काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुखमाथि मुद्दा चलाउन गरिएको सिफारिसलाई ‘विषाक्त, पूर्वाग्रही र प्रतिशोधपूर्ण’ भएको टिप्पणी गरे।
ओलीले आयोगका पदाधिकारीहरूको तटस्थतामाथि सुरुदेखि नै प्रश्न उठाइएको स्मरण गराउँदै आफ्नो पार्टीले यसअघि नै आयोगप्रति अविश्वास व्यक्त गरिसकेको बताए। “आयोगका पदाधिकारीहरूले पार्टीविरुद्ध पूर्वाग्रही धारणा सार्वजनिक गरिसकेका कारण निष्पक्ष प्रतिवेदन आउने अपेक्षा थिएन,” उनले भने।
आयोगले गरेको सिफारिस कानुनी रूपमा पनि आधारहीन रहेको दाबी गर्दै ओलीले फौजदारी अपराध दण्ड संहिता २०७४ को दफा १८१ र १८२ को व्याख्या गरे। उनका अनुसार ती दफा आकर्षित हुन सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित भई प्रत्यक्ष रूपमा घटना घटाएको हुनुपर्ने प्रावधान छ।
“जो व्यक्ति घटनास्थलमा उपस्थित नै छैन, उसमाथि लापरवाहीको अभियोग लगाउन मिल्दैन,” ओलीले भने, “यस्तो सिफारिस कानुनी हिसाबले असम्भव छ।”
उनले न्यायाधीश र सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरू सम्मिलित आयोगबाट आएको यस्तो निष्कर्ष नै कानुनी रूपमा नमिल्ने जिकिरसमेत गरेका छन्।



















