काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पहिलो नम्बरमै तोकिएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लागेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।
यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासमा चार दिनसम्म सुनुवाइ भएको थियो। उक्त इजलासले महान्यायाधिवक्ताको माघ २ गतेको निर्णयसहित सम्बन्धित कागजात झिकाउन आदेश दिँदै आजका लागि पेसी तोकेको हो।
महान्यायाधिवक्ताको निर्णयपछि विभिन्न जिल्ला सरकारी वकिल कार्यालयहरूले सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दिइसकेका छन्। तर जिल्ला अदालतहरूले सर्वोच्चमा विचाराधीन रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय नगर्ने बताएका छन्।
लामिछानेमाथि कास्की, रूपन्देही, काठमाडौँ र पर्साका सहकारी ठगीका मुद्दामा सुरुमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर पनि लगाइएको थियो। पछि महान्यायाधिवक्ताको निर्णयअनुसार ती कसुर हटाउने प्रक्रिया अघि बढाइएको हो।




















