काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउन–फागुन) भित्र नेपालमा १० हजारभन्दा बढी कार आयात भएका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल १० हजार २६२ युनिट कार, जीप तथा भ्यान (विद्युतीय र पेट्रोल दुवै) आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा समग्र कार आयात ६.८१ प्रतिशत अर्थात् ६५५ युनिटले वृद्धि भएको छ । गत वर्ष फागुनसम्म कुल ९ हजार ६०७ युनिट कार आयात भएको थियो ।
चालु आवमा कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कार आयात भएको छ । यसबाट सरकारले १७ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
ईभीको आयातमा सामान्य गिरावट
चालु आवमा समग्रमा कार आयात बढे पनि विद्युतीय कार (ईभी) को आयातमा भने ९.७४ प्रतिशतले गिरावट आएको छ । गत वर्ष ८ महिनामा ७ हजार ८९ युनिट ईभी कार आयात भएको थियो ।
तर चालु वर्ष यो संख्या ६ हजार ३९८ युनिट मात्रै रहेको छ ।चालु आवमा कुल १४ अर्ब ९६ करोड मूल्य बराबरका ईभी भित्रिएका छन् । जसबाट सरकारले ९ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालु आवको बजेटअघि कर बढ्ने हल्लाले व्यवसायीले ठूलो मात्रामा ईभी आयात गरेका थिए । ती कार अझै पूर्ण रुपमा बिक्री भइनसकेकाले अहिले आयातमा केही प्रभाव परेको व्यवसायीहरुले बताएका छन् ।
कुन क्षमताका कति ईभी भित्रिए ?
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ईभी भित्रिएका छन् ।
५० किलोवाटसम्म कुल २ हजार १९८ युनिट आयात भएको छ । जसमा चीनबाट १ हजार ३१३ र भारतबाट ८८५ युनिट भित्रिएका छन् । यसका अतिरिक्त ५० किलोवाटसम्मका २ युनिट अनएसेम्बल विद्युतीय कार पनि आयात भएका छन् ।
५१ देखि १०० किलोवाटसम्ममा कुल ३,६७२ युनिट आयात भएको छ । जसमा चीनबाट २,६१४, भारतबाट ६१७, थाइल्यान्डबाट ४४० र बेलायतबाट १ युनिट आएका छन् । १०१ देखि २०० किलोवाटसम्ममा कुल ५१९ युनिट आयात भएको छ ।
जसमा चीनबाट ४६८, भारतबाट २९, जर्मनी र अमेरिकाबाट १०/१० तथा दक्षिण कोरियाबाट २ युनिट भित्रिएका छन् । २०१ किलोवाटभन्दा माथिका जम्मा ७ युनिट ईभी भित्रिएका छन् । जसमा चीनबाट ४, अमेरिकाबाट २ र अस्ट्रियाबाट १ युनिट रहेका छन् ।
पेट्रोल कार (आइस) आयातमा वृद्धि
चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल गाडी वृद्धि भएको छ । ८ महिनाको अवधिमा कुल ३ हजार ८६४ युनिट पेट्रोल कार आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५३.४५ प्रतिशतले बढी हो । गत वर्ष फागुनसम्म कुल २ हजार ५१८ युनिट पेट्रोल कार आयात भएको थियो ।
पेट्रोल कार आयातमा हुन्डाईको वर्चस्व रहेको छ । ८ महिनामा कुल ३ हजार ८६४ युनिट पेट्रोल कार आयात हुँदा १ हजार ७९४ युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ । (रासस)




















