काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पुरानै लयमा फर्काउने मात्र होइन अझ आधुनिक र शक्तिशाली रूपमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।
पाण्डेले शनिबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै एमाले अब ‘इतिहासको ब्याज’ होइन, ‘भविष्यको लगानी’ मा केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।
पाण्डेले एमालेलाई केवल परम्परागत राजनीतिक शक्ति नभई देशका जटिल समस्या समाधान गर्न सक्षम ‘विज्ञता र प्रविधि’सहितको गतिशील संस्था बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार बदलिँदो समयअनुसार पार्टीको कार्यशैली, सोच र संरचनामा समेत आमूल सुधार आवश्यक छ।
उनले पार्टी सुधारका लागि तीनवटा मुख्य क्षेत्र पहिचान गरेका छन् । पहिलो, विज्ञतामा आधारित राजनीतिः अब केवल भाषणमा सीमित नभई विषयविज्ञ र अर्थशास्त्रीहरूसँग सहकार्य गर्दै देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्ने उनले बताएका छन् ।
दोस्रो, डिजिटल मेरिटोक्रेसीः व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने अभ्यास अन्त्य गर्दै आधुनिक प्रविधिमा आधारित पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्ने उहाँको प्रस्ताव छ । यसले कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मूल्यांकन गर्न मद्दत गर्ने उनले उल्लेख गरेका छन् ।
तेस्रो, संरचित पुस्तान्तरणः नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदै अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को(लिडरसिप’ र ‘मेन्टरसिप’ को वैज्ञानिक मोडल विकास गर्नुपर्ने पाण्डेको छ ।
पाण्डेको भनाइमा एमालेको भविष्य संगठनात्मक सुधार, प्रविधिको उपयोग र ज्ञानमा आधारित नेतृत्व विकासमा निर्भर रहनेछ । यी प्रस्तावहरू कार्यान्वयन गर्न सके एमाले अझ सशक्त र समयअनुकूल पार्टीका रूपमा स्थापित हुन सक्ने विश्वास उनले व्यक्त गरेका छन् ।




















