काठमाडौँ । सहकारीमा डुबेको बचत रकम फिर्ताको माग गर्दै पीडितहरूले माइतीघर मण्डलामा पुनः प्रदर्शन गरेका छन्।
शुक्रबार भेला भएका पीडितहरूले सरकारको ध्यानाकर्षण गराउन सडक आन्दोलन पुनः सुरु गरेको बताएका छन्। करिब चार वर्षदेखि निरन्तर आन्दोलनमा रहे पनि आफूहरूले अझै न्याय नपाएको उनीहरूको गुनासो छ।
सरकारसँग पटक–पटक सम्झौता भए पनि ती कागजमै सीमित भएको भन्दै पीडितहरूले आफूहरू थप पीडित बनेको बताएका छन्।
प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि आफ्ना वाचा सम्झाएका छन्। चुनावी अभियानका बेला रास्वपाले सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो। सोही सन्दर्भमा ‘वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
त्यस्तै, ‘आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्’, ‘अपराध अनुसार सञ्चालकलाई दण्ड गर्ने व्यवस्था बनोस्’, ‘ठग सञ्चालकहरूको नागरिकता, पासपोर्ट, बैंक खाता र सम्पत्ति रोक्का गरियोस्’ जस्ता नारासहित प्रदर्शन गरिएको थियो।




















