काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
शुक्रबार स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले महिलामाथि हुने हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विरोध जनाएका हुन्। उनीहरूले दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन तथा महिला सुरक्षाका लागि प्रभावकारी नीति र कार्यान्वयन गर्न सरकारलाई दबाब दिएका छन्।
प्रदर्शनकारीहरूले “छोरीहरूको सुरक्षा गरौं”, “इनिसा विकलाई तुरुन्त न्याय दे”, “अपराधीलाई लुकाउन पाइँदैन” र “हिंसा सहिँदैन, न्याय चाहिन्छ” जस्ता नारासहित प्लेकार्ड र ब्यानर बोकेका थिए।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भएकी विक गत २३ फागुन बिहान ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन्। अबेलासम्म घर नफर्किएपछि खोजी गर्दा वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकैको सामुदायिक वनमा उनको शव फेला परेको थियो।
पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको पुष्टि भएको छ। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरु नावालक भएको प्रहरीले जनाएको छ ।




















