काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले प्राप्त ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारी सबैमा हुनुपर्ने बताएका छन्।
मंगलबार नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले अब पुरानो शैलीभन्दा फरक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। पहिले आमनागरिकका रूपमा जे जस्तो कामकाज गरे पनि अब चाल, चरित्र र राजनीतिक संस्कार नै परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
उनले फागुन २१ को निर्वाचनलाई ऐतिहासिक भन्दै त्यसबाट आएको जनमतलाई सही ढंगले व्यवस्थापन गर्नुपर्ने बताए। वाग्लेले उक्त जनमतको तुलना बीपी कोइराला नेतृत्वमा २०१५ सालमा नेपाली कांग्रेसले पाएको समर्थनसँग गर्दै अहिलेको जनमत अझ अगाडि रहेको दाबी गरे।
‘यो जनमतलाई सम्हालेर, जोगाएर जनताको आशा र भरोसालाई न्याय गर्ने ऐतिहासिक जिम्मेवारी हामी सबैमा छ,’ उनले भने।




















