काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदका लागि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएका छैनन्।
उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका हुन्। उपसभापति अर्यालका अनुसार दुवै नेता स्वास्थ्य अवस्था र व्यस्तताका कारण उद्घाटन सत्रमा उपस्थित हुन सकेनन्, यद्यपि स्वास्थ्य समस्याबारे विस्तृत जानकारी दिइएको छैन।
यसअघि तय कार्यक्रमअनुसार बालेनले उद्घाटन र रविले समापन गर्ने तालिका थियो। अब बालेनलाई समापन सत्रमा सहभागी गराउने प्रयास भइरहेको जनाइएको छ।
बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधिको भूमिका तथा पार्टीको रणनीति र नीतिगत प्राथमिकताबारे प्रशिक्षण दिइनेछ। साथै संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कसरी गर्ने भन्ने विषयमा पनि स्पष्ट पारिनेछ।
महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रममा पार्टीका नेताहरू र विषय विज्ञहरूले प्रस्तुति दिनेछन्।




















