काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अस्पतालमा भएको भीषण हवाई हमलामा कम्तीमा ४०० जनाको मृत्यु भएको दाबी गरिएको छ भने सयौँ व्यक्ति घाइते भएका छन्। उक्त हमला सोमबार राति करिब ९ बजे भएको अफगान अधिकारीहरूले बताएका छन्।
अफगानिस्तानका सरकारी उपप्रवक्ता हमदुल्लाह फितरतका अनुसार २,००० शय्या क्षमताको लागूऔषध प्रयोगकर्ता उपचार केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो, जसका कारण अस्पतालको ठूलो हिस्सा पूर्ण रूपमा ध्वस्त भएको छ।
स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा उद्धार टोलीले टर्चको सहायताले भग्नावशेषबाट घाइते र शव निकाल्दै गरेको तथा आगो निभाउने प्रयास भइरहेको देखिएको छ।
यता, पाकिस्तानले भने उक्त आक्रमणमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ। पाकिस्तानले पूर्वी अफगानिस्तानका केही क्षेत्रमा मात्र आफ्नो सैन्य कारबाही केन्द्रित रहेको र कुनै पनि नागरिक संरचना वा अस्पतालमा क्षति नपुर्याएको दाबी गरेको छ।
दुवै देशबीच पछिल्लो समय बढ्दो तनावका कारण झडप र हवाई आक्रमणहरू तीव्र भएका छन्, जसलाई पछिल्ला वर्षहरूकै सबैभन्दा घातक द्वन्द्वको रूपमा हेरिएको छ। हमलाभन्दा केही घण्टा अघि मात्र सीमा क्षेत्रमा भएको गोलाबारीमा चार जनाको ज्यान गएको थियो।
अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र तत्काल युद्धविराम गर्न आग्रह गरिरहे पनि हालसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।




















