काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
यससँगै धनुषा क्षेत्र नं १ मा विजयी घोषित भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदावर मातृका प्रसाद यादवले मान्यता पाएका छन्। निर्वाचन आयोगले किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै यादवलाई विजयी घोषणा गरी प्रमाण पत्र प्रदान गरेको थियो।
मतदानअघि मौन अवधि सुरू भएकै दिन फागुन १९ गते आयोगले उजुरीको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलको उम्मेदवारी खारेज गरेको थियो। सोही दिन साहले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उम्मेदवारी खारेजसम्बन्धी विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै अन्तिम आदेश नआएसम्म मतपरिणाम सार्वजनिक गर्न आयोगले निर्देशन दिएको थियो।
निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरिसकेको छ। साहको पक्षमा अत्यधिक मत आए पनि मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकै अवस्थामा निर्वाचन आयोगले यादवलाई निर्वाचित भएको घोषणा गरेको हो। उनलाई निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिसकेको छ।



















