काठमाडौं । नेकपा एमालेनिकट नेसनल भोलिन्टियर फोर्सले प्रतिनिधिसभा निर्वाचनमा जनताको उल्लेखनीय समर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई बधाई दिएको छ ।
संगठनले जनताको भरोसा जित्दै देशको समृद्धिको नेतृत्व गर्ने अवसर पाएको भन्दै ‘नयाँ कार्यशैली र नयाँ उत्साह’सहित पुनः जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाएको छ।
संगठनका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा नेपाली जनताले व्यक्त गरेको जनमत लोकतन्त्रको सुदृढताको प्रतीक भएको उल्लेख गर्दै त्यसलाई उच्च सम्मानका साथ स्वीकार गरिएको जनाएको छ।
राजनीतिमा हार र जित स्वाभाविक प्रक्रिया भएको बताउँदै उनले जनसेवा गर्ने संकल्प कहिल्यै समाप्त नहुने स्पष्ट गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन् “हालैको निर्वाचनको परिणाम हाम्रा लागि एउटा महत्त्वपूर्ण ऐना बनेको छ । अब कसैलाई दोष दिएर पन्छिने भन्दा पनि, जनताको यो निर्मम तर स्पष्ट सन्देशलाई जिम्मेवारीपूर्वक स्वीकार्ने बेला आएको छ । निर्वाचन परिणामले सम्पूर्ण पार्टी पङ्क्ति हतास नभई धैर्य, संयम र अनुशासित रहदैं हाम्रा कमि कमजोरीहरूको निर्मम आत्मसमीक्षा गर्दै, पार्टी संरचना, कार्यशैली र पद्धतिमा ठोस र समयसापेक्ष सुधार गर्न विगतका अनुभवबाट पाठ सिक्दै, अझ दृढ, परिष्कृत र ऊर्जाशील रूपमा पुनः अघि बढ्ने एउटा सुनौलो अवसर दिएको छ । जनताको भरोसा जित्न र देशको समृद्धिको नेतृत्व गर्न ‘नयाँ कार्यशैली र नयाँ उत्साह’ सहित हामी पुनः जनताको घरदैलोमा पुग्नेछौँ । एउटा दृढ अठोटका साथ हामी फेरि उठनेछौं, हाम्रो एकता र सुधारको सङ्कल्प नै हाम्रो पुनरागमनको आधार हुनेछ ।”
विज्ञप्तिमा परिवर्तन र सुशासनको नारासहित रास्वपालाई प्राप्त जनमतलाई जनताले अनुभूति गर्ने खालको परिवर्तन, भ्रष्टाचारमुक्त समाज र प्रशासनिक सुधारतर्फ केन्द्रित गर्नुपर्ने धारणा राखिएको छ। संगठनका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले जनताको अपेक्षा पूरा हुने गरी काम गर्नुपर्ने उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “एउटा दृढ अठोटका साथ हामी फेरि उठ्नेछौँ। हाम्रो एकता र सुधारको संकल्प नै हाम्रो पुनरागमनको आधार हुनेछ। राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा प्रति हाम्रो संगठन दृढ मान्यता राख्दछ। राष्ट्रको प्रगति र जनताको हितका लागि सरकारले गर्ने सकारात्मक तथा रचनात्मक कार्यहरूलाई हामी सदैव समर्थन गर्नेछौँ। तर, यदि सरकारबाट जनभावना विपरीत, भ्रष्टाचारजन्य वा राष्ट्रिय हितमा आँच पुग्ने कुनै कदम चालिएमा हामी सडकबाट सशक्त प्रतिवाद गर्नेछौँ।”




















