काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले चाहेजस्तो नतिजा प्राप्त गर्न नसकेको र आफ्नो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन नसकेको उल्लेख गरेका हुन् ।
उनले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने उल्लेख गर्दै जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्। साथै, कठिन परिस्थितिमा पनि सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिएका मतदाता, नेता–कार्यकर्ता, स्वयंसेवक तथा समर्थकप्रति उनले आभार व्यक्त गरेका छन्।
ओलीले जनताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गर्दै निर्वाचन परिणाम प्रतिकूल भए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने बताएका छन्।
उनले आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




















