काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले संविधानमा अपरिवर्तनीय भनिएका प्रावधान बाहेक अन्य सबै विषयमा छलफल गर्न सकिने बताएकी छन्।
सोमबार राष्ट्रिय सभाको सांसद पदको शपथ लिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्र र जनताको हितमा हुने संविधानसम्मत विषयमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको प्रतिक्रिया दिएकी हुन्।
उनले संविधानका केही अपरिवर्तनीय धाराबाहेक अन्य प्रावधान परिवर्तनशील रहेको उल्लेख गरिन्। “राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत हरेक विषयमा छलफल हुन सक्छ। संविधानमा के अपरिवर्तनीय हो भन्ने स्पष्ट रूपमा उल्लेख गरिएको छ,” उनले भनिन्।
साथै झाँक्रीले हालै सम्पन्न निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने पनि जानकारी दिइन्।



















