काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोन वार्ता गरेकी छन् ।
बिहीबार दिउँसो भएको वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति नेपालको गम्भीर चासो र चिन्ता व्यक्त गरिन् ।
उनले कतारमा कार्यरत करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण प्रदान गरिएकोमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट धन्यवाद दिइन् ।
प्रधानमन्त्री कार्कीले कतारमा बसोबास र रोजगारी गरिरहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै उनीहरूको हेरचाहका लागि कतार सरकारप्रति कृतज्ञता जनाइन् ।
उनले पश्चिम एसियाको अवस्थालाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्व नचर्काउन र सर्वसाधारण नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।
यसका साथै सबै राष्ट्रले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा महासन्धि तथा मानवीय कानुनको सम्मान र पालना गर्नुपर्नेमा जोड दिइन्।
युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले वार्ता र कूटनीतिक माध्यमबाट मात्र दीर्घकालीन समाधान सम्भव हुने धारणा राखिन्।
दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत सम्बन्ध थप सुदृढ हुने उनले विश्वास पनि व्यक्त गरिन् ।
जवाफमा कतारी प्रधानमन्त्री अल-थानीले नेपाल–कतार सम्बन्ध सुमधुर र मित्रवत् रहेको उल्लेख गर्दै कतारमा रहेका नेपाली नागरिकहरूले पुर्याएको योगदानको प्रशंसा गरे । उनले वर्तमान परिस्थितिमा नेपालीहरूलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण उपलब्ध गराइने स्पष्ट पारे ।
वर्तमान अवस्थालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आफ्नो मुलुकले सार्वभौमिकता र आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको धारणा राखे। कतार सधैं शान्तिको पक्षमा रहेको उल्लेख गर्दै यस प्रकारका गतिविधिको विरोधी रहेको पनि बताए ।


















