काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्रको पुनर्स्थापना गर्नका लागि अहिलेको निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन्।
बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले देशमा शान्ति र स्थायित्व कायम गर्दै लोकतन्त्रको पुनर्स्थापना गर्नका लागि अहिलेको निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका हुन्।
देशको शान्ति व्यवस्थाका साथै देश बचाउने कुरा निकै महत्वपूर्ण रहेको भन्दै अध्यक्ष ओलीले यसका लागि अनुभवी देशभक्त, लोकतान्त्रिक र प्रगतिवादी शक्तिहरूलाई अत्यधिक मत दिएर विजयी गराउनुपर्ने धारणा राखे ।
उनले अहिले मतदातालाई भ्रमित पार्दै देशका लागि कुनै योगदान नगरेका तत्वहरुले देशलाई अन्योलको भूमरीको बीचबाट लाभ लिएर अघि बढ्न खोजेको देखिएको बताए।
निर्वाचनमा एमालेले बहुमत ल्याउने र बहुमत ल्याउन नसकेपनि प्रमुख पार्टीको रुपमा स्थापित हुने दाबी गरे । अध्यक्ष ओलीले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिए ।


















