सर्लाही । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै आफूलाई समयानुकूल रूपान्तरण गरेको बताएका छन् ।
बुधबार सर्लाही क्षेत्र नं. ३ अन्तर्गत हरिवन बजारमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उपसभापति शर्माले पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवामा नेतृत्व हस्तान्तरण गरिसकेको उल्लेख गरे । उनले नेपालमा उत्पन्न भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान दल नेपाली कांग्रेस नै भएको दाबी गरे ।
उनले जेन–जी पुस्ताको भावना बुझेर उनीहरूसँग समन्वय गर्दै अघि बढ्ने नीति कांग्रेसले लिएको स्पष्ट पार्दै आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरी विजयी बनाउन मतदातासँग आग्रह गरे । देश सञ्चालन गर्ने अनुभव, सरकारको नेतृत्व गर्ने तथा सरकारभित्र र बाहिर रहेर काम गर्ने सबै अनुभव कांग्रेससँग भएकाले मुलुकलाई सही दिशा दिन सक्ने क्षमता कांग्रेसमै रहेको उनको भनाइ थियो ।
उपसभापति शर्माले मधेसमा कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै पार्टीको नीति र नेतृत्वप्रति जनविश्वास बढ्दो क्रममा रहेको बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन नेता–कार्यकर्ता एकताबद्ध भएर चुनावी मैदानमा उत्रिनुपर्ने आवश्यकता रहेको बताए । कांग्रेस सबैलाई जोड्न सक्ने समावेशी पार्टी भएकाले यसको पक्षमा मतदान गर्न उनले आग्रह गरे ।




















