खोटाङ । १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २४ वर्षीय एक शिक्षक पक्राउ परेका छन् ।
सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ स्थायी घर भई हाल दिक्तेल इंलिस बोर्डिङ स्कुलमा पढाउँदै आएका उनले फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ ।
करणीपछि पनि बालिकालाई ३ घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारको दावी छ ।
पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाबारे जानकारी पाएका थिए । पीडित बालिकाका बुवा र काका पीडकको कोठामा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । बालिकाको स्वास्थ्य परीक्षणपछि राति ११ बजे शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय दिक्तेलमा जबरजस्ती करणी अन्तर्गतको जाहेरी दर्ता गरिएको बताइएको छ ।
ती शिक्षकले गत मंसिरमा आयोजना गरिएको शैक्षिक भ्रमणमा गएदेखि नै छात्रालाई केही सिकाउने बाहनामा बोलाउने र अश्लील गतिविधि गर्ने गरेको पीडित परिवारको दावी छ ।




















