काठमाडौं । नेकपा एमालेले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित वातावरणमा हुनेमा आशंका व्यक्त गरेको छ ।
पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन नजिकिँदै जाँदा मूलक थप भय र सन्त्रासमय बन्दै गएको बताए ।
सरकारले निर्वाचनको लागि अझै शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको दाबी गरे । उनले रास्वपालाई लक्षित गर्दै पार्टीको झन्डा जलाउने, पार्टी नेतृत्वप्रति घृणा फैलाउने कार्यलाई तीव्र पारेको भन्दै आपत्ति जनाए ।
त्यसैगरी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सरकार असफल भएको आरोप लगाएको छ ।
विभिन्न स्थानमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउने तथा पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि बढेको भन्दै पार्टीले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निर्वाचन घोषणा भएयता हजारौँ कैदीबन्दी बाहिरै रहेको तथा सुरक्षा निकायबाट लुटिएका हातहतियार बरामद नभएकाले आपराधिक गतिविधि बढ्न सक्ने भन्दै यसअघि नै सरकारको ध्यानाकर्षण गराइएको एमालेको दाबी छ । पछिल्लो समय विभिन्न स्थानमा अमुक दलको नारासहित एमाले नेतृत्वविरुद्ध अभद्र व्यवहार र झण्डा जलाउने घटना भएको उल्लेख गर्दै पार्टीले यसलाई चुनावी द्वन्द्व निम्त्याउने षड्यन्त्रको संज्ञा दिएको छ ।
एमालेले आगामी निर्वाचनलाई ‘देश बनाउने र जलाउनेबीचको जनमत संग्रह’का रूपमा व्याख्या गरेको छ। कथित ‘नयाँ’ को नाममा मत प्रभावित गर्ने प्रयास असफल भएपछि फेक सर्वेक्षण सार्वजनिक गर्ने, समुदायबीच द्वन्द्व सिर्जना गर्ने तथा हिंसा भड्काउने गतिविधि बढेको आरोप पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
गौर, रौतहटमा जारी अनिश्चितकालीन कर्फ्यूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै एमालेले यसले मतदाताको निर्भीक मतदान अधिकार प्रभावित हुने जनाएको छ। साथै विभिन्न जिल्लामा दलका झण्डा तथा चुनाव चिन्ह जलाउने र अशान्ति फैलाउने गतिविधि भइरहेको आरोप लगाउँदै रास्वपालाई लक्षित गरेको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग उदासीन देखिएको भन्दै एमालेले आपत्ति जनाएको छ। होली पर्वका अवसरमा अमुक दल र त्यसका नेताको तस्वीर तथा चुनाव चिन्ह अंकित टी–सर्ट वितरण गरिएको घटनालाई पनि आचारसंहिता उल्लङ्घनको उदाहरणका रूपमा उल्लेख गरिएको छ।
एमालेले शान्ति–सुरक्षा सुदृढ गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग जोडदार माग गरेको छ ।




















