काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरू एकै स्थानमा बसेर सार्वजनिक प्रश्नको प्रत्यक्ष जवाफ दिनु लोकतान्त्रिक पारदर्शिताको अभ्यास भएको बताएका छन्।
झापा–५ मा आयोजित पब्लिक डिबेट कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै सो क्षेत्रका उम्मेदवार समेत रहेका ओलीले चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व भएको टिप्पणी गरेका छन्। उनले उम्मेदवारहरू नागरिकबाट टाढा रहने, वास्तविक अनुहार लुकाउने र सुटिङ गरेर तयार गरिएका सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने प्रवृत्तिबाट नागरिक ठगिन नहुने बताएका छन्।
“उम्मेदवारहरूले सार्वजनिक रूपमा प्रश्नको सामना गर्नु लोकतन्त्रको पारदर्शिता हो,” ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “चुनाव भनेको नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। तर नागरिकभन्दा टाढा बसेर तयार गरिएका सामग्री देखाएर मतदातालाई झुक्याउने परिपाटी अन्त्य हुनुपर्छ।”
ओलीले आफूहरू आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएको र त्यसैले आलोचना तथा विरोध पनि सुन्नुपरेको बताएका छन्। कतिपय विषयमा आत्मालोचना गर्दै सुधार गर्ने प्रयास गरिएको उल्लेख गर्दै उनले प्रश्न छल्ने र आफूलाई मात्र राम्रो देखाउने राजनीति नगरेको दाबी गरे।
पब्लिक डिबेट आयोजना गर्ने आयोजक, सहभागी उम्मेदवार तथा कार्यक्रममा उपस्थित नागरिकप्रति धन्यवाद व्यक्त गर्दै ओलीले नागरिकसँगै उभिने प्रतिबद्धता जनाएका छन्।
उनले नागरिकलाई सचेत रूपमा प्रश्न गर्न आग्रह गर्दै “प्रश्न सोधौँ, एमाले रोजौँ” भन्ने सन्देशसमेत दिएका छन्।



















