रूपन्देही । रूपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) प्रवेश गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जसपा, नेपालबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य समेत रहेका यादवले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारी परित्याग गरी एमालेमा समाहित भएको सोमबार सार्वजनिक प्रेस विज्ञप्तिमार्फत घोषणा गरेका हुन्।
विज्ञप्तिमा उनले प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
“देश, जनता र राष्ट्रप्रति वफादार रहँदै आजकै मितिदेखि जनता समाजवादी पार्टी, नेपाल को साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,” विज्ञप्तिमा भनिएको छ।
यादवले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिह्न ‘सूर्य’ मा मतदान गर्न आग्रह गर्दै रुपन्देही–३ का एमाले उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
सो अवसरमा नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेसहित नेताहरू भूमिस्वर ढकाल, गोमादेवी आचार्य, भरत पोखरेल, राजेन्द्र पन्थी, प्रमोद यादव, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले यादवलाई पार्टीमा स्वागत गरेका छन्।





















