
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ ।
राजावादी समर्थकहरू विमानस्थल गेट बाहिर भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् । यसका कारण विमानस्थल आसपास पुगेका यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ ।
स्थानीय प्रशासनले विमानस्थल क्षेत्र आसपास निषेधाज्ञा जारी गरेको छ । बाक्लो संख्यामा समर्थकहरू भेला भएपछि यात्रुहरू हतार–हतार सुटकेस घिसार्दै गेटबाटै भित्र प्रवेश गर्न बाध्य भएका छन् ।
यसैबीच राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि केहीबेरअघि विमानस्थल पुगेका छन् । उनले समर्थकहरूलाई बाहिरै राखेर आफू भने भित्र प्रवेश गरेका छन् ।
काठमाडौं प्रशासनले सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादी समूहका समर्थकहरू ठूलो संख्यामा विमानस्थल बाहिर भेला भएका हुन् । बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट हेलिकप्टरमा काठमाडौं आएका हुन् । उनको स्वागतका लागि राजावादी समूह तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल तथा समर्थकहरू विमानस्थल क्षेत्रमा भेला भएका छन् ।
पूर्वराजालाई विमानस्थलबाट निर्मल निवास लैजाने तयारीसँगै विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
हाल काठमाडौंका विभिन्न चोक–चोकमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ । समर्थकहरूको नाराबाजीका कारण विमानस्थल पुग्ने यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।




















