काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। विमानस्थल र वरपर फागुन १ गते प्रदर्शन गर्ने भन्दै विभिन्न समूह तथा राजनीतिक दलहरूले सूचना सार्वजनिक गरेपछि निषेधाज्ञा लागू गरिएको हो।
प्रशासनका अनुसार बिहीबारदेखि लागू हुने गरी एक महिनासम्म विमानस्थल हाताभित्र निषेधाज्ञा कायम रहनेछ। यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न नपाइने आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा विमानस्थल प्रवेशद्वार (गोल्डेन गेट) देखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत सबै भागमा निषेधाज्ञा लागू हुने उल्लेख छ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा भीड जम्मा भई प्रदर्शन गर्दा तोडफोड, आगजनी तथा अन्य उच्छृङ्खल गतिविधि हुनसक्ने सम्भावनालाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
तर निषेधाज्ञा लागू नगरिएका अन्य स्थानमा संविधानले दिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला भएर विरोध प्रदर्शन गर्ने अधिकार सुरक्षित रहेको प्रशासनले स्पष्ट पारेको छ।
यसैगरी, पूर्वसूचना दिएर गरिने विरोध कार्यक्रममा सरकारी, सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्ति असुल गरिने पनि प्रशासनले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्वागत गर्ने तयारी गरेका थिए ।
फागुन १ गते झापाबाट काठमाडौं आउने पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम तय गरेको जनाउँदै सवै शुभचिन्तकहरुलाई उपस्थितिका लागि आव्हान गरेको थियो ।
त्यस्तै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि विमानस्थलमा आउन आह्वान गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
‘देश बचाउन, धर्म जोगाउन, विदेशमा रहेका विखण्डित नेपाली परिवारलाई एकताबद्ध गर्न सम्पूर्ण देशप्रेमी, राष्ट्रभक्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फागुन १ गते दिनको ठीक ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलतर्फ उपस्थित भई कार्यक्रमलाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक बनाउन हार्दिक आह्वान गर्दछौं,’ उनले भनेका थिए ।
यता शाही युवा शक्ति नेपालले पनि फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागतको लागि नागरिकसमक्ष अपिल गरेको थियो। २१ फागुनको निर्वाचनअघि नै पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रोपटक राजगद्दीरोहण गराईनुपर्ने शाही युवा शक्ति नेपालको माग छ । यसको लागि उसले देशव्यापी रूपमा दबावमूलक कार्यक्रमपनि आयोजना गर्दै आएको छ ।




















