काठमाडौं । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालय परिसरबाट सिधै ग्यास बिक्री वितरण सुरु गरेको छ।
डिलरमार्फत ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी निगमले यो विशेष व्यवस्था गरेको हो।
निगमको एलपीजी विभागका प्रमुख विनीतमणि उपाध्यायका अनुसार उपभोक्तालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले आजदेखि टेकु कार्यालयबाटै विभिन्न ब्रान्डका ग्यास सिलिन्डर वितरण थालिएको छ।
‘हाल नेपाल ग्यासका सिलिन्डरहरू कार्यालय परिसरमा झारिसकिएको छ र बिक्री वितरण सुरु भइसकेको छ,’ उपाध्यायका अनुसार नियमित डिलरबाट ग्यास पाउन नसकेका टेकु तथा आसपास क्षेत्रका बासिन्दालाई यो व्यवस्थाले राहत पुग्नेछ।
‘जसलाई अत्यन्तै आवश्यक छ र जसले डिलरबाट ग्यास पाउन सकेका छैनन्, त्यस्ता उपभोक्तालाई लक्षित गरेर यो कदम चालिएको हो,’ उनले थपे।
आयल निगमको यस पहलले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई सरकारी निकायमार्फत प्रत्यक्ष राहत दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयबाटै सिधै ग्यास वितरण सुरु भएपछि उपभोक्ताले लामो समय कुर्नुपर्ने तथा डिलर धाइरहनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ।




















