काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विजयीको शुभकामना व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कार्कीले नेपाली टोलीको विगतको चमत्कारपूर्ण प्रदर्शन र सफलताका साथै विश्वभर फैलिएका समर्थकको साथ टोलीसँग रहेको उल्लेख गरेकी छन्। उनले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रस्तुति देखाउने विश्वास व्यक्त गरेकी छन्।
उनले सन्देशमा भनेकी छन्, “आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार/सफलताको आड छ। इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना!
विजयी भवः।
अनि धेरै माया पनि ♥️”




















