काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र तयार पारेर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
उक्त कार्यमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दर्ता गराएका हुन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार छन्।
उजुरीमा अत्यन्तै भ्रामक, झुटा तथा चरित्र हत्या गर्ने उद्देश्यका सामग्री सामाजिक सञ्जालमा प्रसारित भइरहेको उल्लेख गरिएको छ। यसले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लंघन भएको दाबी गरिएको छ।
उजुरीमा भनिएको छ, ‘यस्ता सामग्रीले मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रियामा असर पार्ने कार्य भएको छ। निर्वाचनको स्वच्छता र सामाजिक सद्भावमा क्षति पुर्याउने भएकाले ती भ्रामक सामग्री तत्काल हटाउन लगाई दोषी पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनुपर्छ।’
प्रतिस्पर्धी उम्मेदवारमध्ये कसैले मतदातामा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्देश्यले आफ्नो नाममा नक्कली प्रतिबद्धतापत्र बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरेको पाइएको भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कारबाहीका लागि उजुरी गरिएको पुनले बताएका छन्।
पुनका अनुसार पार्टीका तर्फबाट सार्वजनिक गरिने आधिकारिक चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको छ र आफूले हालसम्म मौखिक प्रतिबद्धताबाहेक छुट्टै कुनै लिखित घोषणा वा प्रतिबद्धतापत्र तयार नगरेको स्पष्ट पारेका छन्।
उनको नाममा सार्वजनिक गरिएको नक्कली प्रतिबद्धतापत्रमा रोल्पा सदरमुकाम र सुलिचौरलाई रेडलाइट एरिया घोषणा गर्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय तथा प्रत्येक वडामा क्याम्पस स्थापना गर्ने, माडीचौर फुटबल मैदानमा वीर अस्पतालभन्दा ठूलो अस्पताल बनाउने, मेट्रो रेल र केबलकार निर्माण गर्ने जस्ता अव्यावहारिक विषयहरू उल्लेख गरिएको छ।



















