काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी परम्परागत शैलीबाट माथि उठेर ‘कांग्रेस २.०’ अर्थात् बदलिएको कांग्रेसमा रूपान्तरण भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा भिडियोमार्फत बोल्दै सभापति थापाले पार्टीको पुनर्जागरण, भावी कार्यदिशा र नयाँ शैलीबारे जानकारी दिएका हुन् । उनले विगतको निर्वाचनमा मतदाताले कांग्रेसलाई समर्थन गरे पनि जनताको मनमा असन्तुष्टि र आक्रोश रहेको तथ्यलाई गम्भीरतापूर्वक लिएको बताए ।
उनका अनुसार, “‘निर्वाचन जित्न र सरकार बनाउन जे पनि गर्ने तरिका’ प्रति जनताको गुनासो थियो। जनताको आवाज सुनेर हामीले कांग्रेस बदल्ने जोखिम उठायौँ र आज बदलिएको कांग्रेस लिएर आएका छौँ।”
थापाले बताएअनुसार ‘कांग्रेस २.०’ भनेको केवल अनुहार फेरिनु मात्र नभई सोच, संकल्प र शैली फेरिनु हो। पार्टीले लोकतन्त्र, सामाजिक न्याय र समावेशीताजस्ता मूल आदर्श कायम राख्दै नयाँ शैलीमा अघि बढ्ने लक्ष्य राखेको छ।
उनले भनेका छन्, “यो कांग्रेसको पुनर्जागरण हो। यसले हिजोका राम्रा कामको गौरव गर्छ तर विगतका गल्तीहरू स्वीकारेर सच्याउँछ।”
बदलिएको कांग्रेस सत्तामा पुग्न वा सरकार टिकाउन कुनै अस्वाभाविक सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाएको छ । थापाले भने, “सत्तामा पुग्न जोसँग पनि मिल्ने काम अब कांग्रेसले गर्दैन। बरु हामी आनन्दले प्रतिपक्षमा बस्छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ।”
सुशासन र विधिको शासनका सन्दर्भमा सभापति थापाले स्पष्ट पारे, “रुखको छहारीमुनि बसेको होस् वा ठूलो नेता होस्, जसले कानुन उल्लङ्घन गर्छ उसले सजाय भोग्नैपर्छ। आफ्नै मान्छे होस् वा अर्काको, विधिको शासनमा कांग्रेसले सम्झौता गर्दैन।”
थापाले पार्टी छोडेका, निराश भएका र नयाँ युवाहरूलाई बदलिएको कांग्रेसमा जोडिन आह्वान गर्दै भने, “कांग्रेस अब भाषणमा नभई पर्फमेन्समा विश्वास गर्ने पार्टी बनेको छ। तपाईंले खोजे जस्तै र रोजे जस्तै कांग्रेस बनाएर आएका छौँ । यो बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएको छ, यसमा साथ दिनुहोस् ।”




















