काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका लागि भयरहित र निर्भिक रूपमा मतदान गर्न सक्ने वातावरण अझै निर्माण नभएको जनाएको छ।
एमाले केन्द्रीय निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार जारी गरेको विज्ञप्तिमा निर्वाचनको अनुकूल वातावरण तयार पार्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार भएको छैन।”
सरकारले सुरक्षित र विश्वसनीय वातावरण बनाउन पर्याप्त पहल नगरेको आरोप लगाउँदै एमालेले प्रत्येक मतदाताले मतपेटिकासम्म सहज र सुरक्षित पहुँच पाउनु संवैधानिक अधिकार भएको उल्लेख गरेको छ। तर, हालसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन नसकेको र त्यसतर्फ गम्भीरता नदेखाएको एमालेको ठहर छ।
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा लुटिएका हातहतियारका कारण सुरक्षा चुनौती थपिएको एमालेले जनाएको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका लुटपाटका घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै पार्टीले यसले समग्र सुरक्षा व्यवस्थामा गम्भीर असर पारेको जनाएको छ।
यस्तै एमालेले निर्वाचन आचारसंहिताको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता तथा शान्ति–सुरक्षामा खलल पुर्याउने अवाञ्छित गतिविधि, समुदायलाई उत्तेजित बनाउने भड्काउपूर्ण व्यवहार र प्रचारप्रसारको शैलीप्रति निगरानी बढाउन तथा स्थापित कानुनी मापदण्डअनुसार कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेकपा (एमाले) विनम्र अनुरोध गर्दछ।”






















