नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन् । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनका बेला हिमाली जिल्लाहरुमा बढी चिसो बढे दोस्रो चरणमा चुनाव हुने बताइन् ।
सरकारको पुरा ध्यान अहिले निर्वाचनमा केन्द्रित रहेको जानकारी दिंदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनका लागि सरकारले पूर्ण सहयोग गर्छ, मौसम अनुकूल नभएमा दोस्रो चरणमा चुनाव गर्छौ ।’
प्रधानमन्त्री कार्कीले कम मतदाता भएका ठाउँमा सवारीसाधनबाट मतदाता ओसारेरै भए पनि निर्वाचन गराउने बताइन् । उनले निर्वाचन सार्ने कुनै पनि विषय नभएको बताउँदै चुनाव सफल बनाउन सबैलाई जुट्न आग्रह गरिन् । विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले कुनै समस्या आए पनि समाधान गरेर गराइने बताइन् ।




















