बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्।
मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी बोकेको बस धान बोकेको ट्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटना मंगलबार बिहान ओमसतिया गाउँपालिका–४ बसन्तपुर क्षेत्रमा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो।
घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ भने ४ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार बिहानपख बाक्लो हुस्सु लागेकाले दृश्यता कम भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा संलग्न बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















