काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक हुलाक भन्सार शाखामा छापा मारेर भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई घुस तथा स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, गोश्वारा हुलाक कार्यालय पार्सल (निकासी) शाखाका नायब सुब्बा छविप्रसाद रिसाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी रहेका छन्।
कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस माग्ने गरेको उजुरी तथा सूचनाका आधारमा आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रुपैयाँ र स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ बरामद गरिएको छ। साथै, उनको साथबाट थप ९६ हजार ७० रुपैयाँसमेत फेला परेको छ।
त्यस्तै, नायब सुब्बा रिसालको साथबाट घुसबापत लिइसकेको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ बरामद भएको आयोगले जनाएको छ।
छापामारीका क्रममा तीनै जनाको साथबाट स्रोत नखुलेको रकमसहित कुल २ लाख ६८ हजार २८८ रुपैयाँ र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेट बरामद गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणमा लिइएका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।




















