
कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ ।
यही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले चुनावी अभियानमा व्यस्त देखिएका छन् ।
कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका नेता आले पछिल्ला केही हप्तादेखि आफ्नो निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनसम्पर्कलाई तीव्रता दिई रहेका छन् ।
चुनावी अभियानअन्तर्गत नेता आलेले वडा सम्पर्क कार्यालय उद्घाटन, कार्यकर्ता भेटघाट, घरदैलो कार्यक्रमलगायत विभिन्न गतिविधिलाई निरन्तरता दिनु भएको छ । स्थानीय जनताको सुख–दुस्ख बुझ्दै विगतमा आफूले गरेका विकास निर्माणका काम र आगामी दिनका योजना सार्वजनिक गर्दै उनी मतदाताको विश्वास जित्ने प्रयासमा जुटिरहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना प्रभावशाली उम्मेदवार मैदानमा उतारेका छन् ।
नेकपा (एमाले) बाट यज्ञराज ढुंगाना, नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रेमबहादुर आले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्दबहादुर चन्द उम्मेदवार रहेका छन् ।
यस क्षेत्रको निर्वाचन प्रतिस्पर्धालाई निकै चासोपूर्ण रूपमा हेरिएको छ । डोटी जिल्लाबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका तथा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका नेता आले यसपटक नयाँ निर्वाचन क्षेत्र कैलाली–५ बाट उम्मेदवार बनेका हुन ।
उनी २०७० र २०७४ सालमा नेकपा (एमाले) बाट तथा २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित भएका थिए । यसपटक नेकपाले उनलाई कैलाली–५ बाट उम्मेदवार बनाएको छ ।
आफ्नो चुनावी अभियानका क्रममा नेता आलेले विगतमा मन्त्री हुँदा कैलाली जिल्लाका लागि गरेका कामहरूलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
उनले डोटीबाट निर्वाचित भएर वनमन्त्री भएका बेला कैलालीसहित चुरे क्षेत्रको वन विनाश रोक्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्दै रुख कटान गरी काठ तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।
त्यसैगरी कोरोना महामारीको कठिन समयमा सेती प्रादेशिक अस्पतालमा अक्सिजनको व्यवस्था गराएर यहाँका नागरिकको जीवन रक्षा गर्न योगदान दिएको उनको भनाइ छ ।
धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासका लागि बेहडा बाबा मन्दिरमा बजेट विनियोजन गरिएको, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न बजेट विनियोजन गरी हाल टर्मिनल लगायतका भवन, ब्यागेज बेल्ट लगायतका नयाँ भौतिक संरचनाहरू निर्माण भइसकेको उल्लेख गर्दै आएका छन् ।
पूर्वमन्त्री आले भने, “म विगतमा मन्त्री भएको बेला कैलाली जिल्लामा थुप्रै विकासका काम गरेको छु । म जनताको सेवामा खटिने व्यक्ति हुँ । मैले गरेको विकास जनताले छर्लङ्ग रूपमा देखिरहनु भएको छ ।”
आगामी कार्यकालका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै आलेले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटा मेडिकल कलेजमा एमबीबीएस तहको पठनपाठन सुरु गराउने तथा फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन् ।
त्यसैगरी उनले धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई पूर्णता दिने, धनगढीको जिरो प्वाइन्टबाट खुटिया, दिपायल हुँदै बझाङको उरै भञ्ज्याङसम्म जोड्ने रणनीतिक सडक निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पारेका छन् ।
“धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै सुदूरपश्चिमका दुर्गम जिल्लालाई सडक सञ्जालमार्फत जोड्नु मेरो सपना हो,” आलेले भने, “यी काम पूरा गर्नकै लागि म पुनस् जनताको मत माग्दै चुनावी मैदानमा होमिएको छु ।”
चुनावी माहोल तातिँदै जाँदा कैलाली–५ मा मतदाताले कसलाई विश्वास गर्छन् भन्ने चासो निकै बढ्दै गएको छ ।




















