काठमाडौं । पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (वालेन) सँगै अछाम पुगेका बेला शुक्रबार विरामी भएका सिटौलाको उपचारका क्रममा ग्ग्राण्डी अस्पतालमा आइतबार १२: ४५ बजे निधन भएको हो ।
गत शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएका भनिएका सिटौलालाई सुरुमा जिल्ला अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंको ग्रान्डी अस्पतालमा पुर्याइएको थियो ।
पोस्टमार्टम समेत नगरि अन्त्येष्टि गर्ने तयारी भइरहेका बेला अन्त्येष्टि पूर्व पोस्टमार्टम गर्न प्रहरीले दवाव दिएपछि सिटौलाको शव टिचिङ अस्पताल लगिएको छ ।
अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान दिइसकेकाले पोस्टमार्टम नगराउने अडान लिएका थिए । तर, डीएसपी नवराज पोखरेलले पछि कुनै कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आयो भने पोस्टमार्टम रिपोर्ट चाहिने बताएपछि परिवार पोष्टमार्टमका लागि तयार भएको बताइएको छ ।
बालेनको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन सकेन । शनिबार नै उनको अवस्था बुझेर निस्किएका दाजुले माया मारिसकेका थिए । तर सुर्खेतबाट आएका बालेनले आइतबार विहान ७ वजेसम्म फर्खिन डाक्टरलाई भनेपछि उनको अवस्थाबारे अस्पतालले सार्वजनिक गरेको थिएन ।
चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौला ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका सम्पादक/अध्यक्ष हुन्। सिटौलाले एक समय नेपाल टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम पनि चलाउँथे।
अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वत: श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं ।’




















