काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक मुद्दाले कहिल्यै प्राथमिकता नपाएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा धारणा राख्दै अध्यक्ष ढकालले अन्य दलको आलोचना गरेर मात्र स्थापित हुने प्रवृत्ति मौलाउन नहुने बताए। उनले आफ्ना नीति र एजेन्डा स्पष्ट रूपमा प्रस्तुत गर्न राजनीतिक दल अग्रसर हुनुपर्नेमा जोड दिए।
“राजनीतिक दलका नेताहरूले अर्को दललाई कमजोर देखाउने अभ्यास गर्छन्, तर आफ्ना आर्थिक एजेन्डा स्थापित गर्न गम्भीर प्रयास देखिँदैन,” ढकालले भने, “अहिलेसम्म कुनै पनि दलका घोषणापत्रमा आर्थिक मुद्दा प्राथमिकतामा परेका छैनन्।”
निजी क्षेत्रप्रति राजनीतिक दलको दृष्टिकोण नकारात्मक रहँदै आएको उल्लेख गर्दै उनले त्यसको असर विभिन्न समयमा अर्थतन्त्रमा परेको बताए।
“निजी क्षेत्रले राज्यलाई दिएको योगदान—रोजगारी सिर्जना, कर भुक्तानीलगायत विषय—राजनीतिक नेतृत्वबाट उचित रूपमा उठान हुन सकेको छैन,” उनले भने।
मन्त्रालयहरूबीच समन्वयको अभाव रहेको उल्लेख गर्दै ढकालले निर्णय प्रक्रियामा लोकप्रियता खोज्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरे।
“राज्यलाई दीर्घकालीन रूपमा क्षति पुग्ने भए पनि चर्चा बटुल्नका लागि निर्णय गर्ने प्रवृत्ति बढ्दै गएको छ,” उनले बताए।
निजी क्षेत्रलाई राज्यले प्रवर्द्धन र संरक्षण नगरेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने उनको भनाइ छ।
“निजी क्षेत्र बिना आर्थिक समृद्धि सम्भव छैन,” ढकालले जोड दिए।




















