राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्षसमेत रहेका खंग केही दिनअघि मात्रै रास्वपामा प्रवेश गरी स्थानीय तहमा सक्रिय रहेका थिए । खंगसहित कार्यकर्ता तथा समर्थकहरू जसपा नेपालमा प्रवेश गरेसँगै सो क्षेत्रमा पार्टीको संगठन थप बलियो बनेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
पार्टी प्रवेशपछि बोल्दै खंगले मधेश र मधेशी जनताको हकअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको दल भएकाले आफू जसपा नेपालमा आबद्ध भएको बताए । सप्तरी जिल्ला विकासको दृष्टिले अझै पछि परेकाले विकास र समृद्धिका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आ–आफ्नो स्थानबाट भारी मत दिएर सहयोग गर्न उनले आमजनतासमक्ष आग्रह गरे ।




















