काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीका माध्यमबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देशलाई युक्रेनजस्तै संकटपूर्ण अवस्थामा पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
नेकपा एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. भट्टराईले यस्ता गतिविधिले मुलुकलाई अस्थिरता र संकटतर्फ धकेल्ने गम्भीर खतरा रहेको बताए ।
उनले २१औँ शताब्दीको तेस्रो दशकमा आइपुग्दा पनि हिंसा, आगजनी र तोडफोडका माध्यमबाट शासन सत्ता कब्जा गर्ने मानसिकता अझै जीवित रहेको उल्लेख गरे । “खरानीमाथि उभिएर त्यसैको नाममा शासन व्यवस्थामा पुग्न खोज्ने तत्वहरूलाई समयमै चिन्न सकिएन भने देशले ठूलो मूल्य चुकाउनुपर्छ,” उनले भने ।
डा. भट्टराईले यदि विवेकी मतदाताले यस्ता प्रवृत्तिलाई बुझ्न नसकेको खण्डमा वर्तमान पुस्ता मात्र नभई आगामी पुस्ता पनि गलत दिशामा बहकिने खतरा रहेको उल्लेख गरे । नवयुवा र अलमलमा परेका नागरिकलाई सही सूचना र तथ्यका आधारमा मार्गदर्शन गर्न नसके मुलुकको भविष्य नै जोखिममा पर्न सक्ने उनको भनाइ थियो ।
उनले विभिन्न भ्रम र लाञ्छना फैलाएर मतदातालाई अलमलमा पार्ने प्रयास भइरहे पनि त्यसप्रति सचेत रहन आग्रह गरे । देशलाई यस्ता जोखिमबाट जोगाउन विवेकपूर्ण मतदान अपरिहार्य रहेकोमा जोड दिँदै उनले लोकतन्त्र र स्थायित्वका पक्षमा उभिन मतदातालाई आह्वान गरे ।




















