काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गरिने स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौं-४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै उनले पार्टी संगठनलाई लोकतान्त्रिक र पारदर्शी बनाउने दिशामा कांग्रेस अघि बढेको बताए ।
सभापति थापाले अब कांग्रेसमा उम्मेदवार चयन प्रक्रिया पूर्ण रूपमा परिवर्तन हुने उल्लेख गर्दै आगामी निर्वाचनमा वडास्तरबाटै ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार छानिने व्यवस्था लागू गरिने जानकारी दिए । यसले कार्यकर्ता र पार्टी सदस्यलाई निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बनाउने उनको भनाइ छ ।
उनले उम्मेदवारको टिकट पाउन पार्टी सभापति वा महामन्त्रीको घर धाउनुपर्ने परम्पराको अन्त्य भएको दाबी समेत गरे । उनले पार्टीभित्र लामो समयदेखि देखिँदै आएको गुटबन्दी र ६०-४० को भागबण्डा संस्कृतिको पनि अन्त्य भइसकेको दाबी गरे ।



















