काठमाडौं । काठमाडौं क्षेत्र नं. १ मा निर्वाचनको माहोल तातेको छ । नेकपा एमाले आफ्नो गढका रुपमा रहेको यो क्षेत्रमा यस पटक जित्ने र पुरानो विरासत फर्काउने दाउमा छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र हारको ह्याट्रिकबाट जोगिन खोजिरहेका छन् ।
लेखा व्यवसायीहरुको पेशागत छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को अध्यक्ष भइसकेका इमानदार, कर्मठ र परिणाममुखी नेताको रूपमा परिचित मोहनराज रेग्मीले विकास, सुशासन र स्थायित्वका लागि, काठमाडौँ–१ को उज्यालो भविष्य लागि सूर्य चिन्हमा मत माग्दै विभिन्न व्यक्तित्वहरुसँग भेटघाट, छलफल र घरदैलो गरिरहेका छन् ।
यो क्षेत्रमा पार्टीको संगठन बलियो रहेको र इमानदारसँग काम गर्ने भएकाले नै पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउँदै रेग्मीले आफू यही क्षेत्रमा जन्मिएको, पढेको, हुर्किएकाले धेरैजसो प्रत्यक्षरुपमै चिनजान रहेकाले पनि विजयी हुनेमा विश्वस्त रहेको उनले बताएका छन् ।
२०४८ सालदेखि २०५६ सालसम्म एमालेमय रहेको यो क्षेत्र २०६४ सालपछि कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएका थिए । यस पटक सिंह उम्मेदवार नरहेको र नेकपा एमालेले स्थानीय नेता मोहनराज रेग्मीलाई उम्मेदवार बनाएकाले एमालेले आफ्नो विरासत फर्काउने निश्चित प्रायः भएको सो पार्टीका नेताहरुले बताएका छन ।
२०४८ सालको निर्वाचनमा काठमाडौं १ मा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई र एमालेका मदन भण्डारीबीच प्रतिस्पर्धा हुँदा भण्डारी विजयी भएका थिए । कार्यकाल नसकिँदै २०५० जेठ ३ गते भण्डारीको निधन भएपछि २०५० सालको माघ २५ गते उपनिर्वाचन भएको थियो । एमालेले मदनपत्नी विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाएको थियो । सो उपनिर्वाचनमा पनि भण्डारीसँग उनै कांग्रेसका कृष्णप्रसाद भट्टराई पराजित भएका थिए ।
त्यस्तै २०५१ कात्तिकमा भएको मध्यावधि निर्वाचनमा काठमाडौँ १ र ३ मा एमालेबाट मनमोहन अधिकारीले चुनाव लडेका थिए । दुवै क्षेत्रबाट निर्वाचित भएका अधिकारीले क्षेत्र नं १ मा कांग्रेसका हरिबोल भट्टराईलाई र क्षेत्र नं ३ मा प्रकाशमान सिंहलाई पराजित गरेका थिए ।
मनमोहनले क्षेत्र नं ३ रोजेपछि रिक्त भएको १ मा २०५३ सालमा भएको उपनिर्वाचनमा एमालेका नारायण ढकाल विजयी भएका थिए भने कांग्रेसका लोकेश ढकाल पराजित भएका थिए ।
२०५६ सालको निर्वाचनमा पनि मनमोहनले काठमाडौँ १ र ३ मै उम्मेदवारी दिएका थिए भने कांग्रेसबाट कृष्णप्रसाद भट्टराई प्रतिस्पर्धामा थिए । उपनिर्वाचनमा हारेका कांग्रेसका लोकेश ढकालले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर काठमाडौँको गोठाटारमा चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ढलेका मनमोहनको निधन भएपछि काठमाडौँ १ र ३ को चुनाव रोकिएको थियो ।
कृष्णप्रसाद भट्टराई पर्साबाट निर्वाचित भएपछि काठमाडौँ १ मा कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएका लोकेश ढकाललाई उम्मेदवार बनाएको थियो भने एमालेले प्रदीप नेपाललाई अघि सार्यो । नेपाल निर्वाचित भएका थिए ।
२०४८ सालको निर्वाचनमा काठमाडौँ ४ बाट र २०५१ सालमा काठमाडौँ ३ बाट पराजित भएका प्रकाशमान सिंह काठमाडौँ १ बाट उम्मेदवार बनेपछि उनी २०६४ देखि लगातार निर्वाचित हुँदै आएका थिए ।
२०६४, २०७०, २०७४ र २०७९ मा लगातार विजयी भएका सिंह यस पटक उम्मेदवार नहुँदा नेकपा एमालेलाई आफ्नो पुरानो विरासत फर्काउने अवसर मिलेको छ । विगतका निर्वाचनमा एमालेले स्थानीय उम्मेदवार नउठाउँदा र सिंह लौहपुरुष गणेशमान सिंहका छोरा भएका कारण पनि निर्वाचित हुँदै आएका थिए । यस पटक नेकपा एमालेले स्थानीयलाई प्राथमिकता दिँदै समाजसेवी, वौद्धिक, मिलनसार, स्थानीय जनतासँगै सधै घुलमिल भइरहेका सीए मोहनराज रेग्मीलाई उम्मेदवार बनाएको छ । जसले गर्दा यो क्षेत्रका मतदाताको रोजाईमा रेग्मी पर्ने देखिएको छ ।
काठमाडौँ १ मा एमालेका मोहनराज रेग्मी, नेपाली कांग्रेसले प्रबल थापा क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीकी मेनुका भण्डारी, राप्रपाका रविन्द्र मिश्र, रास्वपाबाट रन्जु न्यौपाने (रन्जु दर्शना) लगायत विभिन्न पार्टीका १६ जना उम्मेदवार छन् भने राइड सेयरिङ (पठाओ) का सञ्चालक असीममान सिंह बस्न्यातसहित १३ स्वतन्त्र उम्मेदवार छन् ।
लगातार जित्दै आएका सिंहलाई उम्मेदवार नबनाउँदा कांग्रेसमा ठूलो असन्तुष्टि बढ्नु, सिंहसँग थोरै मतले पराजित भएपनि मिश्रको पक्षमा यस पटक विगतको जत्तिको पनि जनसमर्थन नदेखिनु, वैकल्पिक भनिएका पार्टीदेखि स्वतन्त्र उम्मेदवार धेरै हुनु र क्षेत्रदेखि टोलसम्म संगठन भएको एमालेले स्थानीय जनताको सुखदुःखमा साथ दिँदै आएका युवा रेग्मीलाई उम्मेदवार बनाउनुले पनि एमालेले यो क्षेत्रमा आफ्नो पुरानो विरासत फर्काउन सक्ने सम्भावना बलियो बनेको छ । एमाले उम्मेदवार रेग्मीको घरदैलो अभियानमा देखिएको सहभागिता, उत्साह र जनसमर्थनले पनि यही संकेत गरेको छ ।




















