काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहित प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। यससँगै राष्ट्रिय जनमोर्चा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी बनेको छ।
बुधबार बुटवलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र–२०८२’ सार्वजनिक गरेका हुन्। घोषणापत्रमा संघीयता खारेजी, देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा जस्ता विषय समेटिएको उनले बताए।
अध्यक्ष केसीले अघिल्लो सरकारका क्रममा संसद् विघटन गरेर एनजीओ तथा आईएनजीओसँग सम्बन्धित व्यक्तिहरूलाई सरकारमा राखी चुनाव गराउन खोजिएको आरोप लगाए। उनले सत्ता पक्षका केही व्यक्तिहरूले आफ्ना स्वार्थ पूरा नहुने देखेपछि संसद् विघटन गरेको र चुनाव हुने भएपछि फेरि राजीनामा दिँदै निर्वाचनमा होमिएको टिप्पणी गरे।
उनले वर्तमान अवस्थामा नेपाल राष्ट्र र नेपाली जनतामाथि गम्भीर संकट रहेको र देशको राष्ट्रियता नै जोखिमपूर्ण अवस्थामा पुगेको दाबी गरे।
हरेक निर्वाचनपछि मुलुकलाई समस्यामा पार्ने व्यक्तिहरू नै सत्तामा पुग्ने गरेको उल्लेख गर्दै अध्यक्ष केसीले यसपटक जनताले गम्भीर भएर देशका लागि काम गर्ने प्रतिनिधिलाई सदनमा पठाउनुपर्नेमा जोड दिए।
राष्ट्रिय जनमोर्चा पनि निर्वाचनमा सहभागी भएकाले आफ्नो पार्टीलाई मतदान गर्न उनले मतदातासँग आग्रहसमेत गरे।




















