काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्।
प्रधानमन्त्री कार्कीले आज बिहान भौतिकपूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायत नेपाली सेनाका अधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्ग क्षेत्रको अवलोकन गरेकी हुन्।
निरीक्षणका क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिँदै निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी छिन्। त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
काठमाडौं–तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो। काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो आयोजना रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। काठमडौँबाट तराई एकडेढ घण्टामै पुगिने छ।
करिब ७१ किलोमिटर लामो द्रुतमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापन तथा निगरानीमा भइरहेको छ। २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि नीतिगत जटिलता, दुर्गम भौगोलिक अवस्था तथा जग्गा अधिग्रहणजस्ता समस्याका कारण आयोजना विभिन्न चुनौती सामना गर्दै आएको छ।
आयोजनाको २०८२ असार मसान्तसम्म समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ। ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दुरी ७०.९७ किलोमिटर छ। यस राजमार्गमा अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन्। कतिपय पुल ८२ मिटरसम्म उचाइका छन्।




















