काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले पपुलिजम र एनार्किजमको मिश्रणले राज्य कमजोर र नागरिक विभाजित बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्थालाई नै दुश्मन ठान्ने प्रवृत्ति रहेको उल्लेख गरेका छन्। “दुवै मिल्दा राज्य कमजोर हुन्छ र नागरिक विभाजित हुन्छन्,” उनले लेखेका छन्।
उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने, तथ्य र भावनालाई छुट्याउनुपर्ने र असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
पोखरेलका अनुसार राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो भने संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो। “संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो,” उनले स्टाटसमा उल्लेख गरेका छन्।
उनले मुलुकको समस्या राजनीतिक अस्थिरता र सामाजिक अराजकतामा रहेको उल्लेख गर्दै ती चुनौती समाधान गर्न बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको बताएका छन्। उनका अनुसार चुनाव त्यही उद्देश्य प्राप्त गर्ने अवसर हो।
महासचिव पोखरेलले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्था नै खल्बलिएको दाबी गर्दै संयुक्त राष्ट्र संघलगायत विश्व संस्थाहरू समेत उपेक्षित बन्दै गएको उल्लेख गरेका छन्।
उनले विश्वव्यापी रूपमा सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अत्यन्त संवेदनशील बनेको भन्दै नेपाललाई भूराजनीतिक द्वन्द्वबाट जोगाउन सचेत हुनुपर्ने बताएका छन्। “बंगलादेश वा युक्रेन बन्न नदिनु डर फैलाउनु होइन, समयमै सचेत हुनु हो,” उनले लेखेका छन्।
पोखरेलले यस्तै चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठूलो देशभक्ति भएको उल्लेख गरेका छन् ।




















