
काठमाडौं । फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेको निर्वाचन क्षेत्र नं १ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा होमिएका १८ जना उम्मेदवारमध्ये अधिकांश नयाँ अनुहारका छन् । यस क्षेत्रको निर्वाचनमा यसपटक नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेकपा एमालेबाट अमित लामाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि लामा नयाँ अनुहार हुन् । संविधानको रक्षा र देशको विकासका लागि आफूले निर्वाचनमा उम्मेदवारी दिएको लामाले बताएका छन् ।
जेन-जी आन्दोलनपछि संविधान र देश नै खतरामा परेको बताउँदै लामाले त्यसको रक्षाका लागि आफू मैदानमा उत्रिएको र जनताको मतले मतदान गरेर साथ दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका लामाले राजनीतिक यात्रा युवा संघ नेपालबाट सुरु गरेका थिए । युवा संघमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्ष पद सम्हालेका लामा केहि समय कार्यवाहक अध्यक्ष पनि भएका थिए । लामा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा तीन कार्यकाल विभिन्न जिम्मेवारीमा रहे भने प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन् ।
उम्मेदवारी दिनुको प्रमुख उद्देश्य क्षेत्रीय विकास र जनताका जीवनस्तर सुधार गर्नु रहेको बताउँदै लामाले सुशासन र पारदर्शिता सुनिश्चित गर्दै जनमुखी नीति निर्माण, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र जनताको प्रत्यक्ष सहभागितामार्फत दिगो विकास गर्ने लक्ष्य आफूले राखेको बताएका छन् ।
काभ्रे रोशीस्थित शिखरआम्बोटेमा सामान्य परिवारमा जन्मिएका लामा सानै उमेरदेखि विभिन्न व्यवसायिक गतिविधिमा संलग्न रहँदै आएका छन् । परिवारसँगै आफ्नो दुःख पनि निवारण गर्नुपर्ने चुनौतीका बीच उद्यमशील जीवन रोजेका उनले आत्मनिर्भर मात्र हैन, सयौलाई रोजगारी समेत दिएका छन् ।
जेन–जी आन्दोलनपछि राजनीतिक दलका मुख्य नेता सुरक्षा चुनौतीमा गुज्रिँदा अमितहरूले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका निम्ति आफैँले अलग्गै सुरक्षा दस्ता बनाए । त्यसका एकजना बलिया कमाण्डर हुन्, अमित लामा ।
नेतामात्र सुरक्षा चुनौतीमा रहेनन्, राजनीतिक दलका गतिविधि पनि एक किसिमले वर्जित गरिएको स्थिति थियो । कुनै ठूलो कार्यक्रम गर्नुपरेमा सुरक्षा निकायले त्यस्तो नगर्न र त्यस्तो गरिँदा स्थिति भड्किएमा सुरक्षा दिन नसक्नेसम्मका चेतावनी दिँदै रह्यो । तर, अमितले आफ्नो पार्टी, अध्यक्ष र उक्त पार्टीको केन्द्रीय कमिटीको बैठकको सुरक्षासहित सम्पूर्ण व्यवस्थापनको जिम्मा लिए । आफ्नै व्यवसायिक स्थल, व्यक्तिगत समय र सम्भावित खतराहरु मोल्न कुनै हिच्किचाहट राखेनन् ।
नेकपा एमालेको असोज २९, ३० र ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठक ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा सम्पन्न भएको थियो । उक्त पार्टी प्यालेस उनकै लगानीमा सञ्चालित छ । त्यसबेला सुरक्षा निकायले त्यस किसिमको ‘तामझामपूर्ण’ कार्यक्रम नगर्न एमाले, कांग्रेससहितका दललाई चेतावनी दिएको थियो । तर, लामाले त्यसका कारण उत्पन्न हुने जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको भन्दै आफ्नो व्यवसायिक स्थल पार्टी बैठकका निम्ति दिएका थिए भने अध्यक्ष ओलीको सुरक्षा त उनकै जिम्मेवारीमा थियो ।
‘युवाहरू रचनात्मक, सिर्जनशील र आत्मनिर्भर हुनुपर्छ भन्ने मेरो एजेण्डा हो’– उनले भने – ‘एमाले युवाहरूलाई पिछलग्गु बनाउने पार्टी होइन, भूमिका र जिम्मेवारीसहित देश निर्माणमा अगाडि बढाउने पार्टी हो भन्ने कुरा देशभरका युवाबीच म स्थापित गराउन चाहन्छु । आगामी निर्वाचनमा मेरो उम्मेदवारी पनि त्यहि कारण हो ।’
लामाले स्थानीय विद्यालयमा ब्यवस्थापन समितिको अध्यक्ष भएर समेत काम गरेका छन् । सामाजिक अभियानमा सक्रिय लामाले गरिव, जेहेन्दार तथा असाहयहरुका लागि सहयोग पनि गर्दै आएका छन् । राजनीतिक, सामाजिक र ब्यवसायीक जीवनमा सक्रिय लामा पछिल्लो समय युवाहरुको आर्कषण पनि बनेका छन् । त्यसैले सूर्य चिन्हमा मतदान गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको लामाले बताएका छन् ।





















