काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म तोकिएको समयसीमाभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका छन्।
देशका १६५ वटै निर्वाचन क्षेत्रमा माघ ६ गते ६८ वटा राजनीतिक दल तथा स्वतन्त्र गरी कुल ३ हजार ४ सय ८७ जनाले उम्मेदवारी दर्ता गरेका थिए। तीमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ।
यसैगरी, एक जनाको उम्मेदवारी खारेज गरिएको छ। कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको प्रवक्ता भट्टराईले बताए।
यसअघि बिहीबार उम्मेदवारीमाथि दाबी–विरोध तथा उजुरी दर्ता गर्ने समय तोकिएको थियो, जसअन्तर्गत पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो। जाँचबुझपछि एक जनाको उम्मेदवारी खारेज गरिएको र अन्य चार जनाको उम्मेदवारी भने यथावत राखिएको आयोगले स्पष्ट पारेको छ।



















