काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र देशभरका सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ।
आयोगका अनुसार माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु हुनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघ महिनाभित्रै प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरी फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा ढुवानी गरिसक्ने जानकारी दिए।
उनका अनुसार समानुपातिकतर्फ एक करोड ५० लाख मतपत्र छपाइ भइसकेको छ भने बाँकी ५० लाख मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ।
प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरिएको बताए। बाँकी १४ प्रकारका सामग्री माघको तेस्रो हप्ताभित्र प्राप्त गरी चरणबद्ध रूपमा ढुवानी गरिने आयोगको तयारी छ।
उनले निर्वाचनसम्बन्धी गलत सूचना फैलिन नदिन आयोगले निरन्तर अनुगमन गरिरहेको र नियमनकारी निकायहरूसँग समन्वय गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको नामावली प्रकाशनपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म एक हजार तीन सय ४८७ उम्मेदवारी दर्ता भइसकेको आयोगले जानकारी दिएको छ।




















