काठमाडौं । नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा घिमिरेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार चयन गरेको छ। यसअघि होल्डमा राखिएको उक्त क्षेत्रको टिकट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घिमिरेलाई दिइएको हो।
घिमिरे यसअघि लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर १ को ‘२’ बाट प्रदेशसभा सदस्य बनेका थिए।
त्यस्तै, पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले ठाकुर गैरेलाई नै प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ।
यसअघि गत शनिबार बेलुका पाल्पा–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको थियो। तर आइतबार रूपन्देही–२ बाट पौडेललाई एकल सिफारिससहित उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा–२ मा रामबहादुर राउतले टिकट पाएका थिए।
अघिल्लो निर्वाचनमा जित हासिल गरेका ठाकुर गैरेलाई नै उम्मेदवार बनाउनुपर्ने जिल्लास्तरीय मागलाई ध्यानमा राख्दै अन्ततः एमालेले पुनः गैरेलाई टिकट दिएको हो।




















