
भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा नेता–कार्यकर्ताले भव्य स्वागत गरेका छन्। झापा आइपुगेका ओली विमानस्थलबाट विर्तामोड हुँदै दमक जाने कार्यक्रम रहेको छ।
जेन–जी आन्दोलनपछि ओली पहिलो पटक झापा आएका हुन्। पुस २१ गते स्थान हद फुकुवा भएपछि उनको यो पहिलो झापा आगमन हो। यसअघि गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उनी लामो समय स्थान हदमा परेका थिए।
नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीका अनुसार ओली आज दमकस्थित होटल कामाक्षमा बस्ने छन् र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तयारी छ।
माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका रहेकाले निर्वाचन आचारसंहिता पालना गर्दै सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने एमाले झापाले जनाएको छ। मनोनयनपछि मात्रै चुनावी रणनीति तय गरिने पनि बताइएको छ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले अझै निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको बताए। “मतदातामा त्रास, डरधम्की र सामाजिक सञ्जालको दुरुपयोगका कारण चुनावी वातावरण पूर्ण रूपमा बनिसकेको छैन,” उनले भने। यद्यपि, एमाले निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे।
ओलीको स्वागतमा सहभागी कार्यकर्ताले नेपालको नक्सा, कालापानी र लिपुलेक समेटिएका पोस्टरहरू प्रदर्शन गरेका थिए।




















