काठमाडौँ । नेकपा एमाले र नेपाल परिवार दलबीच आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल परिवार दलका संस्थापक एकनाथ ढकालबीच आइतबार चार बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा राष्ट्रियता, विकास, लोकतन्त्र, शान्ति र संविधानको संरक्षणका लागि दुई दलबीच सहकार्य गर्ने उल्लेख गरिएको छ। दुवै दलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा विगतदेखि कायम सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहमतिको पहिलो बुँदाअनुसार नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारहरूलाई समर्थन गर्नेछ। त्यसैगरी एमालेले उपयुक्त समयमा परिवार दललाई संघीय संसद तथा प्रदेश सभामा प्रतिनिधित्व गराउन सहयोग गर्ने उल्लेख छ।
दोस्रो बुँदामा संसदबाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व कायम रहने तर संसदभित्र एमालेको संसदीय दलमा आबद्ध रहने व्यवस्था गरिएको छ। सहमतिपत्रमा उल्लेख नभएका विषयहरू आपसी छलफल र सहमतिमार्फत टुंगो लगाउने सहमति पनि गरिएको छ।
यसअघि पनि एमालेले एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएको थियो।




















