काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
राजीनामापछि श्रेष्ठ प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेका छन्। प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ, जसका लागि पर्सी उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। सोही निर्वाचनलाई लक्षित गर्दै उनले दुई दिनअघि नै राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
श्रेष्ठले यसअघि २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखाबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। त्यसपछि उनी २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।
६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो। कार्यकाल समाप्त हुन एक महिना बाँकी रहँदा उनले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका हुन्।




















