काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरवारमा बसेको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक अर्थात चार महिनापछि संघीय संसदको हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको बैठक बसेको हो ।
नयाँ संसद भवन पुनःनिर्माण तथा सिंहदरबारभित्र निर्माणाधीन संरचनाको काम ढिलाइ भइरहेकाले राष्ट्रिय सभाको बैठक लामो समयपछि सिंहदरबारमा बसाइएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए। साथै, राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ। बैठक आगामी शुक्रबार बस्ने गरी स्थगित गरिएको छ।
भाद्र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आगजनी भएपछि त्यहाँ बैठक सञ्चालन गर्न नसकिने अवस्था बनेको थियो। साथै, सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवनको काम पनि अझै सम्पन्न नभएकाले वैकल्पिक बैठक हलको व्यवस्था गरी बैठक सञ्चालन गरिएको हो।




















