काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्। माघ ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले जानकारी दिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। त्यसअघि शनिबार नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी एमालेको छ।
एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीबाट सिफारिस भएका नाम जिल्ला र प्रदेश कमिटी हुँदै केन्द्रमा आइपुगेका छन्। तीमध्ये अध्यक्ष ओलीसहित ३५ जना उम्मेदवार सर्वसम्मत भइसकेको शाहीले बताए।
आगामी निर्वाचनमा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरेको छ। हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धनको निर्णय नभएकाले सबै क्षेत्रमा उम्मेदवार बनाउने गरी तयारी अघि बढाइएको एमालेको भनाइ छ।
यसअघि एमाले केन्द्रीय कमिटीको बैठकले उम्मेदवार टुंग्याउने जिम्मा सचिवालयलाई दिएको थियो।



















