दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा अझै चुनाव हुने वा नहुने भन्ने विषयमा स्पष्टता नआएको बताएका छन्। गृह जिल्ला दाङमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान अन्योलपूर्ण अवस्थाबाट निस्कन प्रतिनिधिसभा पुनःस्थापना नै सबैभन्दा स्पष्ट र सुरक्षित उपाय भएको बताए।
महासचिव पोखरेलले चुनाव हुने परिस्थिति बनेमा एमाले त्यसमा सहभागी हुने पनि स्पष्ट पारे। दलहरू विभाजित हुनुभन्दा एकताबद्ध हुनु लोकतन्त्रका लागि हितकर हुने उल्लेख गर्दै उनले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले लोकतान्त्रिक व्यवस्थामै गम्भीर असर पार्न सक्ने टिप्पणी गरे।
उनले रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता लिने निर्णयले सरकार वास्तवमा कहाँबाट र कसरी सञ्चालित छ भन्ने गम्भीर प्रश्न उठाएको दाबी गरे।
समाजमा अझै शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले लुटिएका हतियार संकलन गर्ने, फरार तथा भगाइएका कैदीहरू फिर्ता ल्याउने र प्रहरीको मनोबल बढाउने कामलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।




















